
दैलेखको नारायण नगरपालिका वडा नं. १ को नमूना बस्तिमा बसोवास गर्ने ४५ विपन्न र बादी समुदायलाई खाद्यान्न बितरण गरिएको छ । विश्वखाद्य कार्यक्रमकालागि देशभर खटिएका कर्मचारीहरुले आफ्नो व्यक्तिगत रकम जम्मा गरेर खाद्यान्न बितरण गर्ने कार्य अन्तरगत दैलेखको नमूना बस्तिमा खाद्यान्न बितरण गरिएको हो ।
नारायण नगरपालिका वडा नंं १ दैलेखको समन्वयमा प्रति घर ३० केजि चामल, ३ केजि दाल, १ लिटर तेल, २ के.जि. नुन बितरण गरिएको हो । विश्वखाद्य कार्यक्रमका ७० जना कर्मचारीहरुले ९२ हजारको सहयोग उपलब्ध गराएको र सोही रकम मध्ये कर्णाली प्रदेशको दैलेख र दैलेखका बिपन्न समुदायको रुपमा रहेका नारायण नगरपालिकाको बिपन्न बस्तिमा बसोवास गर्ने ४५ जनालाई नेपाल खाद्य संस्थानको डिपो कार्यालय बाटै चामल खरिद गरेर बितरण गरिएको बिश्वखाद्य कार्यक्रमका फिल्ड संयोजक चक्रबहादुर जि.सिले जानकारी दिएका छन् ।
नारायण नगरपालिका वडा नं १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठले विश्वखाद्य कार्यक्रमबाट भएको सहयोगले कोभिड १९ बाट प्रभाबित विपन्न नागरिकलाई थप सहयोग भएको भन्दै सहयोगी सबै कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । यस अघि पनि नगरपालिकाले निरन्तर रुपमा बादी समुदायका जनताहरुलाई सहयोग गरिरहेको श्रेष्ठले बताए ।
नमूना बस्तिकी अगुवा पवा बादीले दैनिक मजदुरी गरेर गुजारा चलाउने बादी समुदाय लकडाउनको अवधिमा समस्या परेको बताउँदै समस्यामा परेका समुदायलाई सहयोग गरेकोमा संस्था र व्यक्ति सवैलाई धन्यवाद दिएकी छन् ।
बिश्व खाद्य कार्यक्रम अन्र्तगत जिल्ला भरि १ सय ९९ विद्यालयका १९ हजार ७ सय विद्यार्थिलाइ १ सय ८७ टन खाद्यान्न वितरण गरिएको जानकारी शिक्षाकालागि खाद्य कार्यक्रमका ईकाइप्रमुख कृष्ण रेग्मीले बताए ।
गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले सहयोगकालागि बिश्व खाध्य कार्यक्रमलाई धन्यवाद दिदै राहत तथा सहयोगको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।











